नूतन शर्मा बी एण्ड बी हस्पिटलमा प्रवेश, अत्याधुनिक आईभिएफ सुरु गर्दै


काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन्।

हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन्।
डा. नुतनले बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आइतबार देखि शुक्रबार सम्म(६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनेछिन्।

नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा. नुतनले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन्। 

‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ ।’ डा. नुतनले भनिन्–‘केही समयपछि हामीले बी एण्ड बीमै वर्ल्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर  सञ्चालन गर्नेछौं। त्यसको पूर्व तयारी समेत थालिसकिएको छ।’

नवचिकित्सकहरुका लागि विश्वस्तरीय आईभिएफ ट्रेनिङ इन्स्टिच्यूट समेत सञ्चालन गरिने डा. नुतनले जानकारी दिइन् ।

‘त्यस्तो इन्स्टिच्यूटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ।’ डा. नुतनले भनिन् ।