२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै


काठमाडौं। आज माघ २ गते २०८२ (जनवरी १६, २०२६) देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतना एवं कार्यक्रमसँगै मनाइँदैछ।

यसअघि वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्‍याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम समेत रहेको छ।

आज बिहान काठमाडौँको भूगोलपार्कमा काठमाडौँ महानगरपालिकाद्वारा आयोजित भूकम्प स्मृति सभा पनि सम्पन्न भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट, र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल जस्ता उच्च अधिकारीहरूले सहभागिता जनाए।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले, भूकम्पीय क्षति घटाउन पूर्व तयारीको संयन्त्र बलियो बनाउनु पर्ने बताउँदै यसका लागि अन्तरसरकार समन्वय बढाउँदै लैजानु पर्ने, स्थानीय सरकारहरुबाट भएका प्रयासहरुलाई संस्थागत गर्दै लैजानु पर्ने बताउनुभयो । आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ । उहाँले भन्नुभयो, ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानु पर्छ ।’ ‘समुदायको क्षमतालाई विपद पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनु पर्छ। विपदका समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो।’

सभाका अध्यक्ष एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सिपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’ ‘भूकम्पजस्ता विपदको क्षति सम्झना गर्न थालेको धेरै भयो । अब क्षति हुन नदिने प्रणाली विकास गर्नमा काम गर्नु पर्ने बेला आएको छ।’

कार्यक्रममा महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।’ कार्यक्रममा १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको कम्पन, त्यसले पुर्‍याएको भौतिक तथा मानवीय क्षति, क्षति पुनःस्थापना गर्न त्यस वेला गरिएका प्रयासका बारेमा चर्चा गरिएको थियो ।

यस अवसरमा राजधानी काठमाडौँमा मूल समारोह खुल्लामञ्चमा दिउँसो १ बजेपछि आयोजना हुने कार्यक्रम तय गरिएको छ।

यस वर्षको दिवसको मूल नारा ‘सबै तहका सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ रहेको छ र नेपालले विगतका महाभूकम्पहरूको स्मरण गर्दै भूकम्प प्रतिकार्य र सुरक्षा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

यो दिवस विसं १९९० माघ २ गतेको महाभूकम्प को सम्झनामा २०५५ सालदेखि मनाउँदै आइरहेको परम्परा हो।