कालिका लघुवित्तको सोह्रौं वार्षिक साधारण सभाबाट १०.५ प्रतिशत लाभांश पारित –


पोखरा। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ ।

सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको हाे ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आ.व.२०८१/२०८२ सम्मको सञ्चित मुनाफावाट दश प्रतिशत बोनश शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश (वोनश शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

वोनस शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी चवालिस करोड चौरासी लाख एकसट्ठी हजार पाँचसय पैँतिस रुपैया चौविस पैसा हुने बताइएको छ।

वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३५.४८ रहेकोमा संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको शेयर स्वामित्ववाट १० प्रतिशत शेयर सर्वसाधारण समूहको शेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ।

साधारण सभाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने-गाभिने वा प्राप्ति गर्ने, प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्न र समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।