आज माघे सङ्क्रान्ति: धार्मिक, सांस्कृतिक र आयुर्वेदिक महत्त्व


काठमाडौं। आज माघ १ गते, माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यस दिनलाई मकर सङ्क्रान्ति वा माघे सङ्क्रान्ति भनिन्छ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको सुरुआतलाई शुभ मानिने भएकाले आजको दिन स्नान, दान, जप, तप, ध्यान र व्रत गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

माघे सङ्क्रान्ति धार्मिक आस्था, स्वास्थ्य र सामाजिक सद्भावको पर्वका रूपमा नेपाली समाजमा विशेष महत्त्व राख्दै आएको छ।

यी स्थानहरूमा आज विशेष मेला पनि लाग्ने गर्छन्।

देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका पवित्र तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको उल्लेख्य भीड लागेको छ।

तराई क्षेत्रका बासिन्दाले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने परम्परा छ। वर्षभर नुहाउन कठिन हुने वातावरणका कारण आजको दिन अनिवार्य रूपमा स्नान गर्नुपर्ने मान्यता रहिआएको छ।

धार्मिक विश्वासअनुसार आज बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरह पुण्य प्राप्त हुने मानिन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, स्नान, ध्यान र दान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

पुसको अन्तिम दिनमा पकाएर राखिएको तरुल माघमा खाने प्रचलन

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ। चिसो मौसममा यी तातो परिकारले शरीरलाई न्यानो राख्नुका साथै त्रिदोष नाश गर्ने आयुर्वेदिक मान्यता रहेको छ।

कतिपय स्थानमा पुसको अन्तिम दिनमा पकाएर राखिएको तरुल माघमा खाने प्रचलनसमेत रहेको छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा पनि प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास छ। आयुर्वेद शास्त्रअनुसार तिलको तेलले नाडी, स्नायुमण्डल र हड्डीलाई सुदृढ र स्वस्थ राख्न सहयोग पुग्छ।

उत्तरायणपछि शुभकार्य गर्न उत्तम मानिने भएकाले आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिको मनोकामना पूर्ण हुने जनविश्वास छ।