नेपाल स्वास्थ्य सम्मेलनमा स्वास्थ्य व्यवसाय कि सेवा


काठमाडौं: नेपाल स्वास्थ्य सम्मेलनमा स्वास्थ्य व्यवसाय कि सेवा भन्ने विषयले स्थान पाएको छ । निजी र सरकारी क्षेत्रका व्यक्तिहरू सहभागी सत्रमा यो विषयमा गम्भीर छलफल भएको हो । सरकारी पक्षले स्वास्थ्य सेवा भने तापनि निजी क्षेत्रले भने सेवामुखी व्यवसाय भएको उल्लेख गरेका छन् ।

सत्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले स्वास्थ्यलाई सेवाका रूपमा हेर्नुपर्ने बताइन् । उनले संविधानमै मौलिक हकका रूपमा स्थापित स्वास्थ्यलाई व्यवसायका रूपमा बुझ्न नहुने तर्क गरिन् ।   

उनले राज्यले कुन मोडलमा सेवा प्रवाह गर्ने भन्नेमा अलमल भने रहेको बताइन् । उनले पूर्ण निःशुल्क  गर्ने की कसरी सेवा प्रवाह गर्ने भन्नेमा राज्य स्पष्ट हुन जरुरी रहेको औँल्याइन् ।

यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले स्वास्थ्यलाई सेवामुखी व्यापारको संज्ञा दिएका छन् । उनले राज्यको नीतिमै स्पष्टता नभएको बताए । राज्यले आर्थिक,सुरक्षा, सामाजिक, भौतिक,र नीतिगत सुरक्षाको ग्यारेन्टी गरे आफूहरूले निःशुल्क उपचार गर्ने बताए ।

राज्यले यी विषयमा ग्यारेन्टी गरे चिकित्सकहरू विदेश पलायन नहुनेमा जोड दिए । नेपालको स्वास्थ्य नीति व्यापारमुखी भएको बताए । उनले सरकारले बिमा कार्यक्रम लगायत का कार्यक्रम सञ्चालन गरेर व्यापारमुखी बनेको आरोप लगाए ।

यस्तै नेपाल मेडिसिटी अस्पतालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले सेवा गरिरहेको दाबी गरे ।उनले नेपालको स्वास्थ्य सेवा विश्वकै सस्तो भएको जिकिर गरे । उनले नागरिकमा स्वास्थ्य चेतना नहुँदा उपचार खर्च महँगो भएको बताए ।

उनले सरकारको नीति उल्टो हुँदा स्वास्थ्य क्षेत्र व्यवसायी रूपमा अघि बढ्न नसकेको बताए । उनले नेपालमा मेडिकल टुरिजम स्थापना गर्न मेडिकल भिसाबारे कानुन बनाउनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालका आयुक्त प्राडा सूर्यप्रसाद ढुंगेलले नेपाल सरकारले अन्तर्राष्ट्रिय मानव अधिकारमा विभिन्न सम्झौतामा ’राइट टु हेल्थ’ निःशुल्क सेवा, मातृ उपचार सेवा, बाल उपचार सेवा लगायतमा हस्ताक्षर गरेको छ। तर सरकारले कार्यान्वयन भने गर्न सकेको छैन यो दुखद भएको बताए। 

मानव अधिकारको क्षेत्रबाट जनताको उपचारको वञ्चित नहुने गरी व्यवसाय र सेवा दुवै मोडलमा राज्य जान भने सक्ने बताए। यसमा जोड भनेको बिरामीले उपचारको पहुँचमा जोड दिनु पर्छ। मानवअधिकारको क्षेत्राधिकार अनुगमन गर्ने पनि भएको बताए। 

यता नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानले नेपालमा उत्पादन भएको औषधीको गुणस्तरमा शंका नगर्न आग्रह गरेका छन् । नेपालको नियामक निकायले नियमन गरिरहेकाले नेपाली उत्पादनमा विश्वास गर्न आग्रह गरेका छन् ।

उनले नेपालमा स्वास्थ्य सेवाको विकासकालागि नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । उनले नेपाली औषधी उद्योग पनि सेवामूलक भएको उल्लेख गरे । सरकारले सहयोग गरेका नेपाली औषधीलाई आयात गर्न सकिने उनको भनाइ छ ।