काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बारा निर्वाचन क्षेत्र नं. ४ को उम्मेदवारीलाई लिएर विवाद चर्किँदै गएको छ।
मधेस प्रदेश पर्यटनका प्रमुख अभियन्ता मोहन शर्मा लामिछाने र सिमरामा रहेको पाँचतारे होटलका सञ्चालक व्यवसायी इच्छा बहादुर वाग्ले यतिबेला रास्वपा भित्र प्रमुख दावेदारका रूपमा चर्चामा छन्।
तर पछिल्लो समय जनताको मनोभावनाविपरीत टिकट सुरक्षित गर्न विभिन्न गतिविधि भइरहेको भन्दै बारा जिल्लामा असन्तोष बढ्दै गएको छ। सार्वजनिक रूपमा ‘कसैलाई हराउनकै लागि आफ्नो उम्मेदवारी रहेको’ भन्ने अभिव्यक्ति दिँदै हिँडिरहेका इच्छा बहादुर वाग्लेको टिकट जोगाउन जिल्ला तथा प्रदेशस्तरीय नेताहरू दौडधुपमा लागेको आरोप लागेपछि पैसाको चलखेल भएको हुनसक्ने आशंकाले जिल्लाको राजनीति तरंगित बनेको छ।
यसैबीच, रास्वपाभित्र केही स्थानीय स्वार्थी समूहहरूले प्रतिनिधि छनोटको औपचारिक प्रक्रिया बेवास्ता गर्दै केन्द्रमाथि दबाब दिने प्रयास थालेको भन्दै पार्टीभित्रै आलोचना सुरु भएको छ।
यता अर्को समूहहरूले चुनावको मुखमा आएर ‘सिमरा खानेपानी हाम्रो कारणले जितेको हो’ भन्ने दाबी गर्दै, ‘हामी सिमरामै जन्मिएका शिक्षकलाई अगाडि बढाउँछौँ’ जस्ता नारा फैलाएर हल्ला सिर्जना गरिरहेको बताइन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो गतिविधिले रास्वपाले फरक राजनीतिक संस्कार स्थापना गर्ने दाबीमाथि नै प्रश्न उठ्ने अवस्था आएको छ। अन्य दलहरूमा विगतमा देखिएका अभ्यास दोहोरिएमा रास्वपाको संस्थागत विश्वसनीयता कमजोर बन्ने खतरा रहेको उनीहरूको भनाइ छ।
यद्यपि पार्टीको केन्द्रीय नेतृत्व र प्रतिनिधि छनोट समितिले स्थानीय दबाब र हल्लाभन्दा बाहिर रहेर वस्तुगत अवस्थाको मूल्यांकन गरी निष्पक्ष निर्णय लिने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार केन्द्रले उम्मेदवार छनोटमा लोकप्रियता, सामाजिक स्वीकार्यता, संगठनप्रतिको प्रतिबद्धता र नैतिक मापदण्डलाई प्राथमिकतामा राख्ने तयारी गरिरहेको छ।
यसै सन्दर्भमा पछिल्लो समय मोहन शर्मा लामिछाने बारा–४ का लागि बलियो वैकल्पिक उम्मेदवारका रूपमा उदाइरहेका छन्। कुलमान घिसिङ निकट मानिने लामिछाने रास्वपाका केन्द्रीय तथा प्रदेशस्तरीय प्रमुख नेताहरू, जिल्ला तथा नगर समितिसँग पनि नजिक सम्बन्ध राख्ने व्यक्तित्वका रूपमा परिचित छन्।
उद्योगी–व्यवसायीहरूका विश्वासपात्र रहेका लामिछाने मधेसमै सर्वाधिक चिनिएका सामाजिक अभियन्तामध्ये एक हुन्। हाल उनी जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका छन्। पार्टीभित्र देखिएको विवाद र असन्तोषका बीच लामिछाने दुवै पात्रको विकल्पका रूपमा अघि बढ्न सक्ने सम्भावना बलियो बन्दै गएको जानकारहरू बताउँछन्।
अब सबैको चासो रास्वपाको केन्द्रीय प्रतिनिधि छनोट समितिको निर्णयमा केन्द्रित भएको छ। उक्त निर्णयले न केवल बारा–४ को राजनीतिक दिशा तय गर्नेछ, बल्कि रास्वपाले दाबी गर्दै आएको ‘नयाँ राजनीतिक संस्कार’ व्यवहारमा कति लागू हुन्छ भन्ने कुराको पनि परीक्षा लिनेछ।