देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नुपर्छ: सन्चारमन्त्री खरेल


चितवन। संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताउनुभएको छ । सुनौलो नेपालले आज यहाँ आयोजना गरेको भरतपुरको बिकास मोडल र भविश्यका सम्भावना बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीको हैसियतभन्दा पनि जिम्मेवार नागरिकका रूपमा मुलुकका लागि योगदान दिन आफू आएको बताउनुभयो ।

सबैले इमान्दारीपूर्वक देशलाई योगदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नैपर्ने र त्यसले आगामी पुस्तालाई राम्रो भविष्य दिन सकिने धारणा व्यक्त गर्नुभयो ।
देशका लागि त्याग गर्ने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा रहेको उल्लेख गर्दै यदि हामीले त्याग नगरे देश मरुभूमि बन्न सक्ने भन्दै उहाँले सबै मिलेर देश बचाऔँ, देश बनाऔँ भन्ने आह्वान गर्नुभयो ।

देशको केन्द्र शहरको रुपमा भरतपुरलाई बिकास गर्न आबश्यक रहेको उहाँले बताउनुभयो । नेपालको राजधानी काठमाडौं हो भने सेन्टर सिटिको रुपमा भरतपुर भएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “ पर्यटन, मेडीकल, कृषि सहित भौतिक पूर्बाधारले सम्पन्न जिल्लाको रुपमा रहेकाले यसलाई नेपालको सेन्टर सिटिको रुपमा बिकास भई सक्यो ।” उहाँले थप्नुभयो “भरतपुर नेपालका सेन्टर सिटि हो । यसलाई तुलना गर्नुहुन्छ भने जापनको टोकीयो, अमेरीकाको न्यूयोर्क अथवा वेलायतको लण्डन, फ्रान्सको पेरीस हो भने नेपालको भरतपुर हो ।” चितवन भौतिक संरचना सहित सबै कुराले यसका लागि भरिपूर्ण रहेको उहाँको भनाई थियो । विगत ८ वर्षमा भरतपुरले चौतर्फी रुपमा गरेको प्रगतीको उहाँले प्रसंसा गर्नुभयो ।
मन्त्री खरेलले स्थायी सरकार भएमा जनताको चाहना अनुसार काम गर्न सकिने बताउनुभयो । अहिले आँफु सरकारमा आउँदा देशका लागि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “जेन जी आन्दोलन पछि देश अनिर्णयको बन्दी वन्ने भयो त देशको नागरिक भएर देशको सेवा गर्नु पर्छ भन्ने भावना म मा आयो र म मन्त्री भए ।” उहाँले थप्नुभयो “राजनैतिक अस्थिरताका कारण देशको बिकास हुन नसकेको हो ।” उहाँले डुब्न लागेको देशलाई उतार्न हामी सबैको दायीत्व भएको बताउनुभयो ।
राजनैतिक अस्थिरताका कारण देशको बिकास हुन नसकेको बताउँदै उहाँले राजनैतिक स्थिरताले मात्रै देशको बिकास गर्ने बताउनुभयो । राजनैतिक स्थिरताका लागि आगामी निर्वाचनले काम गर्ने भन्दै उहाँले फागुन् २१ गते जुन सुकै हालतमा पनि निर्वाचन हुने बताउनुभयो । उहाँले आफुले निर्वाचनमा उठ्ने विषयमा हालसम्म निर्णय नगरेको र कुनैपनि पार्टीमा आवद्घ नभएको प्रष्ट्याउनुभयो । यद्यपी नागरीक तहबाट निर्वाचनामा लड्नका लागि धेरै सुझाव आएको मन्त्री खरेलको भनाई थियो ।