ईकोनोमिक खबर, काठमाडौं।
जेठ १३ गतेको नेपाल बन्दलाई सफल बनाउन १२ गतेको तयारीमा समयको अस्पष्टताले प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ। सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । शुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।
सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन्। ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपीले बताए।
सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।
विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।