सालपा विकास बैंकको आईपीओ सर्वसाधारणमा बुधवार जारी हुदै, कम्पनीको समग्र अवस्था कस्तो छ?


काठमाडौं। सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये यसअघि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ । मंसिर २५ गतेदेखि २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्कासन गरी पुस ४ गते बाँडफाँट गरिएको हो ।

यस कम्पनीले आफ्नो जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणमा १४ लाख ३९ हजार १७९ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीले ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि समेत बाँडफाँट गरिसकेको छ । यीबाहेक २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीको भनाई छ ।

सर्वसाधारणमा कम्पनीको आईपीओ निष्कासन अवधि छिटोमा पुस २० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस ३० गतेसम्म निष्कासन लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्दै आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको परिचय 

कम्पनी ऐन, २०६३ बमोजिम २०६८ कात्तिक २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०६९ साउन १ गते नेपाल राष्ट्र बैंकबाट कारोबार गर्न अनुमति प्राप्त गरी यो कम्पनी सञ्चालनमा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय खोटाङ जिल्लाको दिक्तेलमा रहेको छ । कम्पनीले रजिष्टर्ड कार्यालयसहित ७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो बैंक स्थापनाअघि मुलुकमा व्याप्त द्वन्द्वका कारण खोटाङ जिल्लाको दिक्तेलमा राष्ट्रिय वाणिज्य बैंकको मात्र शाखा सञ्चालनमा रहेको र त्यस ठाउँका सेवाग्राही कैयौं दिनसम्म पालो पर्खेर रकम निकाल्नुपर्ने अवस्था रहेको बताइन्छ । त्यस्तो विकराल परिस्थितिमा खोटाङका लगानीकर्ताहरूको पहलमा यो बैंकको स्थापना भएको कम्पनीको भनाइ छ ।

पूँजी संरचना 

यस कम्पनीको अधिकृत पूँजी ८० करोड रुपैयाँ छ भने जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ छ । हाल ३५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटपछि भने चुक्तापूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ कायम हुनेछ ।

संस्थापकतर्फ हाल ६७ प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३३ प्रतिशत शेयर जारी गरेको हो । सर्वसाधारण लगानीकर्ताको सहभागिता गराउन र आफ्नो सेवा विस्तार गर्न आवश्यक पूँजी व्यवस्थाका निम्ति कम्पनीले आईपीओ जारी गरेको हो ।

वित्तीय अवस्था 

कम्पनीले आर्थिक वर्ष ०७८/७९ देखिको वास्तविक वित्तीय अवस्था आह्वानपत्रमा सार्वजनिक गरेको छ । कम्पनीको जगेडा कोष रकम उक्त वर्षदेखि निरन्तर सकारात्मक रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा ३३ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोषमा आर्थिक वर्ष ०७९/८० मा १ करोड ६९ लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम कायम थियो । आर्थिक वर्ष ०८०/८१ मा भने कम्पनीको जगेडा कोषमा २ करोड ४ लाख १० हजार रुपैयाँभन्दा बढी छ ।

गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार भने कम्पनीको जगेडा कोषमा २ करोड ७० लाख रुपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा र प्रतिशेयर आम्दानी ९ पैसा रहेको छ ।