
काठमाडौं । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो ।
एकाध सेन्टिमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले स्वीच थिचेपछि सुरुङ छिचोलिएको घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ छिचोलिए पनि त्यसलाई पानी बहाउन मिल्ने बनाउन अझै एकदेखि डेढ बर्ष समय लाग्नेछ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री नजिकै विशेष समारोहको आयोजना गरिएको हो । समारोहमा प्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री बस्नेत, दुवै जिल्लामा जनप्रतिनिधि, उच्च सरकारी अधिकारीका साथै यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउनसक्छ । त्यसैको उदाहरण बन्न सफलभएको छ, सो आयोजना । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुबै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यानाकृष्ट गरेको छ । नेपालमा यो गतिमा पनि काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्य आयोजनामा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।