बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार, नेपालको भविष्य सुरक्षित गर्नु र राष्ट्र सुदृढ बनाउनु हरेक नेपालीको साझा जिम्मेवारी हो, चाहे उनी नेपालमा बसोबास गरून् वा विदेशमा। यस कार्यक्रमले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र “राष्ट्र बचाऊ, राष्ट्र बनाऊ” अभियानलाई समर्थन गर्न समुदायलाई जोड्ने उद्देश्य राखेको छ।
कार्यक्रममा बेलायतभरिका नेपाली समुदायको उपस्थितिसँगै बेलायती गोर्खाहरुको गौरवशाली योगदानलाई पनि सम्मान गरिनेछ। कार्यक्रम संयोजक तथा उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल)का अनुसार, बेलायतमा रहेका Gen Z का अतिथि वक्ताहरुको सहभागिताले नयाँ पुस्तालाई सक्रिय रुपमा जोडिन प्रेरित गर्नेछ।
विशेष अतिथिको रुपमा वरिष्ठ अधिवक्ता, राजनीतिक टिप्पणीकार, भ्रष्टाचार‑विरोधी, न्यायिक प्रणाली‑विश्लेषक ध्रुवलाल श्रेष्ठ रहने तय भएको छ।
यस अन्तरक्रिया कार्यक्रमले निम्न विषयहरुमा ध्यान केन्द्रित गर्नेछ:
- वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र सम्बन्धित कानूनी संरचना
- नेपालको वर्तमान अवस्था, जनसांख्यिकी, र भूराजनीतिक स्थिति
- विदेशमा रहेका नेपालीहरुको मतदान अधिकार तथा एनआरएनए अपडेट
एनआरएनए यूकेले सबै नेपाली समुदायका सदस्यहरुलाई यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन हार्दिक आग्रह गरेको छ।