चितवन। दाेश्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ आयोजना हुने भएको छ ।
इच्छाकामना गाउँपालिकाको आयोजनामा हुने महोत्सव आगामी २०८२ पुस ११ गतेदेखि पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सव इच्छाकामना गाउँपालिका, भुम्लिङ बजार क्षेत्रमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्ने आयोजकले जनाएको छ।
स्थानीय कृषिजन्य उत्पादनको प्रवर्द्धन, विशेषगरी इच्छाकामनामा उत्पादन हुने सुन्तलाको बजार विस्तार तथा स्थानीय खानाका परिकारको पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा सुन्तलासहित स्थानीय कृषि उत्पादन, परम्परागत तथा आधुनिक परिकार, घरेलु तथा साना उद्योगका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछ ।
महोत्सवलाई व्यवस्थित बनाउन सरोकारवाला निकायहरूसँग समन्वय गर्दै तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । यसैक्रममा २०८२ पुस ०८ गते सोमबार चितवन उद्योग संघको औद्योगिक पाठशाला कक्षमा महोत्सवसम्बन्धी पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमार्फत महोत्सवका उद्देश्य, कार्यक्रम तथा अपेक्षित उपलब्धिबारे जानकारी गराइएको छ ।
आयोजकका अनुसार महोत्सवले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ । साथै आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्न समेत महोत्सवले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्वाद मेला, कृषि प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत समेटिने जनाइएको छ । आयोजकले महोत्सवमा सहभागी भई स्थानीय उत्पादनको उपभोग र प्रवर्द्धनमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
