आर्थिक सूचक केही राम्रो देखिएता पनि मुलुकको अर्थतन्त्र सुधार्न समस्यामा छ,- अर्थमन्त्री खनाल


“अर्थतन्त्रमा संरचनागत समस्या गहिरिँदै गएको अर्थमन्त्री खनाल,”

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले केही आर्थिक सूचकाङ्क सकारात्मक देखिए पनि मुलुकको समग्र अर्थतन्त्र भने अझै समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ। उहाँका अनुसार सतहमा देखिने सुधारले वास्तविक अवस्था झल्काउँदैन, किनकि अर्थतन्त्रभित्र गहिरा संरचनागत समस्या विद्यमान छन् ।

त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले आर्थिक वृद्धिदर न्यून रहेकाले अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक वृद्धिदर कमजोर हुँदा रोजगारी सिर्जना हुन सकेको छैन, जसको प्रत्यक्ष असर युवाहरूको भविष्यमा परेको छ।”

रोजगारीका पर्याप्त अवसर नपाउँदा ठूलो संख्यामा युवा शक्ति वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य भएको उल्लेख गर्दै मन्त्री खनालले यसले देशको उत्पादनशील जनशक्ति बाहिरिने अवस्था सिर्जना गरेको बताउनुभयो । युवाहरूको पलायनले दीर्घकालीन रूपमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने उहाँको धारणा छ।

अर्थमन्त्री खनालका अनुसार देशमा उत्पादनमुखी सम्पत्तिमा सीमित व्यक्तिहरूको मात्रै पहुँच रहेको छ । यसका कारण बहुसंख्यक नागरिक आर्थिक गतिविधिबाट वञ्चित भइरहेका छन् । “सीप, स्रोत र अवसरमा समान पहुँच नहुँदा अर्थतन्त्र असन्तुलित बनेको छ,” उहाँले भन्नुभयो ।

त्यसैगरी, सुशासनको अवस्था पनि चिन्ताजनक रहेको अर्थमन्त्री खनालको भनाइ छ । उहाँले सुशासनका क्षेत्रमा प्रभावकारी समाधान खोज्न नसकिएको र राज्यका संस्थाहरू दिनप्रतिदिन कमजोर बन्दै गएको बताउनुभयो । संस्थागत कमजोरीका कारण नीति कार्यान्वयन प्रभावकारी हुन नसकेको र जनविश्वासमा पनि कमी आएको उहाँको तर्क छ ।

कार्यक्रममा सहभागी अर्थशास्त्री तथा विद्यार्थीहरूले अर्थमन्त्रीको भनाइप्रति चासो व्यक्त गर्दै अर्थतन्त्र सुधारका लागि दीर्घकालीन नीतिगत सुधार, रोजगारी सिर्जना र सुशासन सुदृढीकरणमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।