काठमाडौं। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुपाल्चोकले सञ्चालन गरिरहेको बीउ आलु आत्मनिर्भर कार्यक्रम अनुसार खोपासी भू–मित्र कृषक समूहलाई अनुदानमा आलुको स्रोत बीउ (दाना) PBS उपलब्ध गराउने तयारी गरिएको छ।
यसैक्रममा PBS आलु बीउ उत्पादन प्रविधिबारे व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले समूहका सदस्यहरूले आज कुशादेवीमा रहेको PBS आलु बीउ उत्पादन प्रविधि (ल्याब तथा स्क्रिन हाउस) को अवलोकन गरेका छन्। अवलोकनका क्रममा PBS प्रविधिबाट स्रोत तथा मूलस्तरको आलु बीउ कसरी उत्पादन गरिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
खाद्यान्न तथा बीउ आलु, अलैची तथा फलफूल नर्सरी उद्योग, कुशादेवीका सञ्चालक शशी अधिकारीले PBS बाट गुणस्तरीय स्रोत/मूलस्तर बीउ उत्पादन प्रक्रिया, यसको महत्व तथा व्यावसायिक सम्भावनाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागी कृषकहरूले यस प्रविधिले स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादनमा सहयोग पुग्ने र आलु खेतीलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।
जानकारीमूलक सहजीकरणका लागि सञ्चालक अधिकारीप्रति कृषक समूहले धन्यवाद व्यक्त गरेको छ।