काठमाडौं । हिजो आइतबार र आज सोमबार दुईसम्म लगानी प्रवद्र्धनको लागि भएको अन्तर्राष्ट्रिय सम्मेलन सफल भएको बताइएको छ । लगानी सम्मेलनमा एक दजर्न बढी सम्झौता भएका समेत छन् ।
लगानी बोर्डका अनुसार आठ सय भन्दा बढी विदेशी प्रतिनिधि सहभागी भएको उक्त सम्मेलनमा दुई हजार पाँच सय भन्दा बढीको सहभागिता भएको हो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत भयो। आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।
लगानी सम्मेलन यस्ता भएका छन् सम्झौता :
रारामा नेपाली मौलिकता झल्काउने रिसोर्ट १८ महिनामा बन्ने, अस्ट्रेलियाले लगानी गर्ने
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो। अहिलेसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै आएको उक्त ग्रूपले सर्भिस क्षेत्रमा पनि लगानी गर्न लागेको हो ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ।
रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए।
समुद्री सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।
उनले भने, ‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’
आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ। एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ।
रेमिट्यान्सको रकम जलविद्युतमा प्रयोग गर्ने सम्झौता
विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौताको क्रममा रेमिट्यान्सको २९ प्रतिशत रकम रेमिट हाइड्रोमा लगानी गर्ने बताइएको छ । सम्झौताका क्रममा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री शक्ति बस्नेतले रेमिट्यान्सको ३९ प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने बताए । पूर्वी एशियामा वैदेशिक रोजगारमा गएकाबाट ५ वर्षमा ९४ अर्ब रुपैयाँ लगानी जुट्ने बताइएको छ ।
वसन्त चौधरीको ग्रुपले डेटा सेन्टर बनाउन सम्झौता
बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दुई पक्षीय सहमति भएको हो। बीएलसी ग्रूपको अध्यक्ष बसन्त चौधरी रहेका छन्।
योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।
हङकङको बोर ग्रुपले होटलमा लगानी गर्ने
हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालको साःख ग्रूपसँग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो।
लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रूपबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ ।
सार्वजनिक निजी साझेदारी प्रवद्र्धनमा साझेदारी
नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवद्र्धनका लागि वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स (नाप)बीच समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुप कुमार उपाध्यायले हस्ताक्षर गरे।
समझदारीमा दबवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ ।
नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुबै संस्था सहमत भएका हुन्।
नेक्सजेनले ६ अर्ब लगानी भित्राउने
नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रूप प्रा.लि. बीच लगानी सम्झौता भएको छ ।
नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज उक्त सम्झौता भएको हो। सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रूपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका छन् ।
कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।
सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ ।
उद्योग मन्त्रालयले गर्यो ९ अर्ब १३ करोडका लगानी स्वीकृत
लगानी सम्मेलनको अवसर पारेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन्।
मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई सोमबार प्रमाणपत्र समेत दिएका छन्। । स्वीकृतमध्ये एउटा व्यक्तिगत लगानी चिनियाँ छ । जसको बहुउद्देश्य राखिएको मन्त्रालयले जनाएको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता छ।
त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ । यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ । बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुने भनिएको छ।
तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ । यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने उल्लेख छ।
चेम्बर अफ कमर्स र क्रोएसियाबीच समझदारी
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।
काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ। क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलसमक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो। चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए।
त्यस्तै, लगानी सम्मेलनमा मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीहरुले चासो देखाएका छन्। गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा लगानीमा चासो देखाएका छन्।
कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनामा चासो राखेका छन्। विभिन्न लगानीकर्तासंग छलफल भैरहेकाले अन्तिम सम्झौता भैसकेको छैन।