नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघको प्रतिबद्धता


काठमाडौं। विश्वभरि बढ्दै गएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी राजनीतिक प्रतिबद्धता जनाएको छ।

यो प्रतिबद्धता संयुक्त राष्ट्रसंघको १७औँ महासभामा, सेप्टेम्बर २५ मा सम्पन्न चौथो उच्चस्तरीय बैठकको उपलब्धिका रूपमा लिइएको हो।

यस पहलले कोभिड–१९ पछि देखिएका र भविष्यमा आउन सक्ने स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

मुख, फोक्सो, कलेजो, मिर्गौला तथा बालबालिकामा देखिने क्यान्सरसहितका नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या, वातावरणीय प्रदूषण, हानिकारक रसायन र अस्वस्थ खानाको नियन्त्रणमा जोड दिइएको छ।

“साथै सामाजिक सञ्जालको अत्यधिक प्रयोग, ई–सिगरेट, ट्रान्सफ्याट र बालबालिकालाई लक्षित अस्वस्थकर खाद्य विज्ञापन नियन्त्रण गर्ने प्रतिबद्धता पनि गरिएको छ। डिजिटल असर नियन्त्रणका लागि सामाजिक सञ्जालको अवधि र त्यसका सीमाहरुमा पनि नियन्त्रण गर्ने प्रतिबद्धतामा उल्लेख छ ।”

नयाँ स्वरुपमा उत्पादन तथा बिक्री भइरहेका र जनस्वास्थ्यको हितमा नभएका ई–सिगरेट, ट्रान्सफ्याट (खानाभित्र रहेको हानिकारक चिल्लो पदार्थ) को नियन्त्रण, बालबालिकाले बढी प्रयोग गर्ने अस्वस्थकर खानाको विज्ञापनमासमेत नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ ।

‘नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या नियन्त्रणका लागि सदस्य राष्ट्रहरुले आफ्ना नागरिकको स्वास्थ्य र जीवनका लागि बलियो लक्ष्य लिएका छन्’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधाननोम घोब्रयासले भने ।

सन् २०३० सम्म सदस्य राष्ट्रहरूले नीति, ऐन, बजेट र स्वास्थ्य सेवाको विस्तार गर्ने लक्ष्य लिइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो दीगो विकास लक्ष्य हासिल गर्ने महत्वपूर्ण अवसर हो।

“संयुक्त राष्ट्रसंघका अनुसार विभिन्न खालका नसर्ने रोग विश्वमा मानव मृत्युको मुख्य कारण बनेका छन् । नसर्ने रोगका कारण विश्वमा प्रतिवर्ष १८ करोड ८० लाख मानिसको अल्पआयुमै मृत्यु हुने गरेको छ। अस्वस्थ खाना, सुर्तीजन्य पदार्थ, मदिरा, निष्क्रिय जीवनशैली, वायु प्रदूषण जस्ता पक्षले पनि मानसिक स्वास्थ्यमा असर पर्छ।”

प्रतिबद्धताअनुसार सन् २०३० भित्र विभिन्न लक्ष्य हासिल गरिसक्नुपर्र्नेेछ । जसअनुसार कम्तीमा ८० प्रतिशत सदस्य राष्ट्रहरुले नसर्ने तथा मानसिक रोग नियन्त्रणका लागि नीति तथा ऐन निर्माण गरिसक्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ८० प्रतिशत आधारभूत अस्पतालमा औषधि तथा उपकरणसहित प्राथमिक स्वास्थ्य केन्द्रमै नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी सेवा हुनुपर्ने, ६० प्रतिशत सदस्य राष्ट्रहरुले नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक बजेट र नीतिगत व्यवस्था गरिसक्नुपर्ने र कम्तीमा ८० प्रतिशत सदस्य राष्ट्रहरुले राष्ट्रिय योजनामा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका विषयमा नीति तथा योजना निर्माण गरिसक्नुपर्नेछ । त्यस्तै ८० प्रतिशत सदस्य राष्ट्रहरुले मानसिक स्वास्थ्य तथा नसर्ने रोगको अवस्थाबारे अनुसन्धान गर्नुपर्नेछ ।

हाल विश्वमा नसर्ने रोगका कारण हरेक वर्ष करोडौँ मानिसको अकाल मृत्यु भइरहेको छ भने मानसिक स्वास्थ्य समस्याले अर्बौँ मानिसलाई असर गरिरहेको छ।