दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु


काठमाडौँ । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम आज देखि काठमाडौँमा सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) सँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो।

दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छता अत्यन्तै आधारभूत र संवेदनशील पक्ष हो। यस विषयलाई नै केन्द्रमा राख्दै एसटीपीले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका होटल, रेष्टुरेन्टहरुलाई खानपान सेवाको गुणस्तर वृद्धि गर्न  पर्यटकको स्वास्थ्य, सन्तुष्टि र गन्तव्यप्रतिको विश्वास बढाउन तालिम सुरु गरिएको परियोजना प्रमुख धर्मराज दवाडीले बताएका छन्। उनका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सकिएन भने त्यसले पर्यटकको स्वास्थ्यमा जोखिम मात्रै होइन, देशको पर्यटन छवि र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्न सक्छ।