कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा


काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नुपर्ने सुरुवाती रकम (डाउन पेमेन्ट) मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने छन् ।

वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिनेछ।

यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ।