काठमाडौँ। सरकारले देशका सात जिल्लामा आज १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको बताएको छ ।
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले अभियान अन्तर्गत यसपटक सात जिल्लाका १०१ पालिकामा रहेका ५० लाख ७८ हजार नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ ।
उनले देशका १३ वटा जिल्ला हात्तिपाइले रोग मुक्त जिल्ला भएको, अरु ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको र चारवटामा औषधि सेवन कार्यक्रम सकेर सर्भे हुदै गरेको बताए ।
उहाँले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताउनुभयो । यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ ।
उनले बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुन औषधि खुवाउन लागिएको बताए । महाशाखाले अभियानमा ६५ प्रतिशत बढीले औषधि खाएपछि ती जिल्लामा सर्भे गरिने गरिएको छ ।
डा. मरासिनीले औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उक्त कार्यक्रममा १९ जिल्लाले निवारणको प्रमाणपत्रसमेत पाइसकेका छन् ।
आम हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल रहेका छन्।