आठ जना सचिवको सरुवा, काे कता भए


काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायका आठ जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको तयारी तीव्र भइरहेका बेला आयोगकै सचिव महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ।

पन्थले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ऐन, नियमावली र कार्यविधि निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। अब उनको स्थानमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगको नयाँ सचिव बनाइएको छ।

उद्योग मन्त्रालयमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई पठाइएको छ भने कमल पोखरेललाई तथ्यांक कार्यालयमा सारिएको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि मन्त्रालयमा र डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरिएको छ।

सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्दै कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको जनाइएको छ।

यस्तै खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्ट कार्यालयमा र त्यहाँका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ।