काठमाण्डौं। भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गर्यो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमानपुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुलबसका चाबी हस्तान्तरण गर्नुभयो । सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो।
उपहार स्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशक देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरुप प्रदानगर्दै आएको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूतले उक्तएम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थपबलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहल मध्येको एक रहेको बताउनुभयो । वहाँले यो कार्यक्रम भारत र नेपाल बीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिनुभयो । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा दिगो प्रगति ल्याउन मद्दत गरेको पनि उल्लेख गर्नुभयो।
सोही अवसरमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउनुभयो । साथै यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताउनुभयो।
दुई दशक यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर एक हजार ९ ओटा एम्बुलेन्स र तिनसय ओटा स्कुल बस उपहार स्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ।