कवि जसराज किराँतीलाई नेपाली प्रतिभा प्रतिष्ठान-बेलायतको विशेष सम्मान


काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत द्वारा आयोजना गरिएको “प्रतिभा विशेष सम्मान तथा प्रतिभा पुरस्कार” कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भयो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा विशिष्ट कवि बैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ कवि जसराज किराँतीलाई ‘प्रतिभा विशेष सम्मान’ प्रदान गरिएको हो।

किराँतीलाई सम्मानपत्र एक लाख रुपैयाँ, दोसल्ला तथा अबिर मालाले सम्मान बाट यसवर्षको ‘प्रतिभा विशेष सम्मान’ प्रदान गरिएको आयोजकले जानकारी दिएका छन। साहित्यिक योगदान, सिर्जनात्मक सक्रियता र नेपाली कवितामा पुर्‍याएको दीर्घ योगदानका आधारमा उहाँलाई यो सम्मान निर्णायक समितिले प्रदान गरेको बताइएको छ।

कार्यक्रम काठमाडौंको होटल ताजमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, साहित्यकार, स्रष्टा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। प्रमुख अतिथि बैरागी काईलाले यस्ता कार्यक्रमहरूले स्रष्टाहरूलाई थप सिर्जनात्मक ऊर्जा र उत्साह दिन मद्दत गर्ने उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए।

यस्तै, युवा साहित्यकार विजेता चौधरीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। युवा पुस्तामा देखिएको सिर्जनात्मक ऊर्जा तथा साहित्यिक सम्भावनालाई कदर गर्दै चौधरीलाई सम्मानपत्र र  एक लाख रुपैयाँसहित दोसल्ला प्रदान गरिएको छ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका उपाध्यक्ष कवि मिजास तेम्बे, अतिथि कवि प्राज्ञ श्रवण मुकारुङ, समालोचक तथा साहित्यकार डा.तुलसी गौतम लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रमको संचालन कवि प्राज्ञ सशी लुमुम्बुले गरेका थिए।

समारोहमा समालोचक डा.तुलसी गौतमले सम्मानित कवि जसराज किराँतीको साहित्यिक योगदानबारे विशेष प्रस्तुति दिएका थिए। सम्मानित कवि किराँतीले आफूलाई प्रदान गरिएको कदरप्रति आयोजकप्रति हृदयदेखि आभार व्यक्त गरे।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष साहित्य, कला तथा सिर्जनशील क्षेत्रमा निरन्तर योगदान पुर्याउन व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।