नवलपुर। स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता विकास गर्ने उद्देश्यसहित सरल नेपाल र लर्ड बुद्ध एकेडेमी स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्टबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। युवाको क्षमता र अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा एकीकृत डिजिटल मञ्च उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न दुवै संस्थाले सहकार्य गरेका हुन्।
कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार वक्तृत्वकला प्रतिस्पर्धा पूर्णरूपमा अनलाइन मोडालिटीतर्फ उन्मुख हुनेछ र एकै चरणको प्रस्तुतीकरणका आधारमा मूल्यांकन हुनेछ। उनले भने, “युवा पुस्तामा विशाल सम्भावना भए पनि कमजोर अभिव्यक्तिका कारण क्षमता दबिने गर्छ। यस कार्यक्रमले उनीहरूको आवाज र आत्मविश्वासको ढोका खोल्नेछ।”
प्रतिस्पर्धामा १५ देखि ४० वर्ष उमेरका नेपाली युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक वा फोन (९७४५२९०२८३) मार्फत दर्ता गराउन सक्नेछन्। भाषिक दक्षता, विषयको स्पष्टता, प्रस्तुतीकरण शैली, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकहरूले मूल्यांकन गर्नेछन्।
कार्यक्रम तीन चरणमा सञ्चालन हुने जनाइएको छ,पहिलो अडिसन, दोस्रो राउण्ड र अन्तिम भौतिक फाइनल। देशभरका युवालाई एउटै डिजिटल मञ्चमा ल्याई समान अवसर प्रदान गर्नु यसको प्रमुख लक्ष्य हो।
डिजिटल पार्टनर स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनर जन अपडेट, सहकार्य साझेदार लियो क्लब अफ चितवन ग्रिनसहित युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन, जीवन सिटी अस्पताल, लेड्रा कलेजलगायत विभिन्न संस्थाहरूको साथ रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका मुख्य उद्देश्यहरूमा स्पष्ट र प्रभावकारी वक्ता उत्पादन, आत्मविश्वासपूर्ण प्रस्तुतीकरण, नेतृत्व विकास, तर्कशक्ति र विश्लेषण क्षमतामा वृद्धि तथा डिजिटल अभिव्यक्ति कौशल मजबुत बनाउने लक्ष्य राखिएको छ।