यस आर्थिक वर्षको पहिलो आठ महिनामा कस्तो रह्यो पुँजी बजार? यसो भन्छ राष्ट्र बैंकको तथ्यांक


नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको पहिलो आठ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा समग्र पुँजी बजार कस्तो रह्यो भन्ने रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार २०७९ फागुन मसान्तमा १९५३.०६ रहेको नेप्से सूचकाङ्क २०८० फागुन मसान्तमा २१०८.७३ कायम भएको छ । २०८० फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३३१४ अर्ब ६३ करोड कायम भएको छ जुन गत फागुन मसान्तमा रु.२८२३ अर्ब ६८ करोड रहेको थियो ।
यसैगरी २०८० फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।
सूचीकृत कम्पनीहरू मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० फागुन मसान्तमा सूचीकृत ८ अर्ब २२ करोड शेयरको चुक्ता मूल्य रु.८१४ अर्ब ६५ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु.६८ अर्ब ८५ करोड बराबरको साधारण शेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, रु.१६ अर्ब ७ करोड बराबरको बोनस शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१०२ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।