काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षका लागि कवाडी कर संकलनको ठेक्का राज एण्ड रिवाज सप्लायर्स प्रा.लि.लाई ४२ लाख रुपैंयामा दिएको थियो।
तर ठेक्का लिएपछि कम्पनीका प्रोपाइटर कुन्दन सिंह ले सो कर संकलन अधिकारलाई इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर प्रा.लिलाई झण्डै तीनगुना बढी मूल्य अर्थात् एक करोड तिस लाख रुपैयाँमा पुनः बिक्री गरेको तथ्य सार्वजनिक भएको छ।
ठेक्का पुनःबिक्रीबाट उठेको रकममा सिंहले कर छली गरेको आरोपसमेत लागेको छ। वास्तविक कारोबार एक करोड ३० लाख रुपैंया हुँदाहुँदै कर तिर्नका लागि उनले २९ लाख ९४ हजार ५ सय रुपैंयाकै बिल मात्र जारी गरेका छन्। यसरी करयोग्य एक करोड ५ हजार ५ सय रुपैंया बराबरको कारोबार लुकाइएको उजुरीमा उल्लेख गरिएको छ।
उक्त विषयमा इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर ले आन्तरिक राजस्व कार्यालय, बालाजुमा आधिकारिक निवेदन दर्ता गराए पनि, कार्यालयले आवश्यक प्रक्रियागत कदम अगाडि नबढाएको गुनासो उजुरीकर्ताले गरेका छन्।
कर कार्यालयका केही कर्मचारीले समेत कारोबार लुकाउन सहयोग गरेको दाबी गर्दै, आफूहरूसँग आरोप पुष्टि गर्न सक्ने कागजात र प्रमाण रहेको उनीहरूले बताएका छन्।

सरोकारवालाहरूका अनुसार स्थानीय तहको ठेक्का प्रक्रिया देखी कर प्रशासनसम्मकै पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठेका छन्। सार्वजनिक स्रोत, कर प्रणाली र ठेक्का व्यवस्थापनमा विश्वासको संकट झनै गहिरिँदै गएको उनीहरूको टिप्पणी छ।
उता, आरोपित राजस्व कार्यालय तथा संलग्न दुवै कम्पनी ले हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
इन्द्रेणी हार्डवेयरको निवेदनपछि पनि कर कार्यालय मौन बसेको देखिनु, “पावर र पहुँच ले नगरपालिका देखि कर कार्यालयसम्म प्रभाव जमाएको संकेत” सरोकारवालाहरूको आरोपमा उल्लेख छ।