सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी, अघि बढ्यो प्रक्रिया


काठमाडौं । सरकारले १२ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ ।

हाल कार्यान्वयनमा रहेको ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था छ। सरकारले त्यसलाई परिमार्जन गर्दै नयाँ मापदण्ड लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।

सरकारले यसअघि वि.सं. २०७४ र २०७८ मा सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको थियो । तर, अटो व्यवसायीको दबाबका कारण पछि हट्दै आएको थियो ।

अब भने नयाँ मापदण्ड कार्यान्वयन गरेरै छाड्ने गरी प्रक्रिया अघि बढाएको हो ।

यद्यपि, लागू भइहाल्नेमा शंका भने कायमै छ ।

वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता विभाग प्रमुख (सहसचिव) धिरेन्द्रकुमार प्रधानले सवारी प्रदूषणको नयाँ मापदण्ड निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनका अनुसार नयाँ मापदण्डको मस्यौदा तयार भई रायका लागि वातावरण विभागमा पठाइएको छ । विभागबाट राय आउने बित्तिकै स्वीकृत गरी लागू गरिने उनले बताए ।

‘सवारी प्रदूषणको नयाँ मापदण्ड लागू गर्ने तयारीमा जुटेका छौं । मस्यौदा रायका लागि वातावरण विभागमा पठाएका छौं । विभागबाट राय आउने बित्तिकै मन्त्रालयको टेक्निकल कमिटिले टुंगो लगाउँछ,’ उनले मेरो अटोसँग भने, ‘अबको २/३ महिना भित्रै स्वीकृत गरी कार्यान्वयनमा ल्याउने तयारी छ ।’ यसअघि व्यवसायीको अनुरोधमा स्थगन गरिए पनि अब भने सरकार पछि नहट्ने उनको भनाइ छ ।

नयाँ मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति समेत पाइसकेको उनले जानकारी दिए ।  बढ्दो प्रदूषण नियन्त्रणका लागि नयाँ मापदण्ड लागू गर्न ढिलो भइसकेको उनले बताए ।

‘युरोपियन देशमा युरो ६ मापदण्ड लागू भएको दशक बितिसक्यो । हाम्रै छिमेकी भारतले बीएस ६ लागू गरिसक्यो, चीनमा चाइना ६ लागू छ,’ उनले भने, ‘तर, हाम्रोमा अझै नयाँ मापदण्ड लागू भएको छैन । धेरै ढिला भइसक्यो ।’