आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तपोषण निवारण सम्बन्धी तालिम सम्पन्न


काठमाडौँ- आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंकवादी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी एक महत्त्वपूर्ण तालिम कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार सम्पन्न भएको उक्त तालिममा कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो। यस तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई AML/CFT सम्बन्धी विद्यमान ऐन, नियम, तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरूमा रहेका कानूनी व्यवस्थाहरूका बारेमा विस्तृत जानकारी गराएका थिए।

यसका साथै, हालै नियमनकारी निकायबाट जारी भएका नयाँ कानूनी व्यवस्थाहरूका बारेमा समेत जानकारी प्रदान गरिएको थियो।

तालिम कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारण (AML) मा व्यवस्थापन, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरूको समान योगदान र जिम्मेवारी रहने विषयमा जोड दिए।

उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानूनको पूर्ण पालनाले कम्पनीको आन्तरिक नियन्त्रण र सुशासनलाई थप सवल बनाउने तथा ग्राहक र लगानीकर्ताहरूको विश्वास बढाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तालिम कार्यक्रमको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका सम्पूर्ण कानूनी व्यवस्थाहरूको पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए।