काठमाडौँ । लगानी बोर्डको कार्यालयले बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगको सहकार्यमा आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै शनिबार प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको छ ।
उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्नुहुँदै बंगलादेशका लागि नेपालका महामहिम राजदूत घनश्याम भण्डारीले नेपालमा लगानी गर्दाका रणनीतिक लाभहरूबारे चर्चा गर्नुहुँदै बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गर्नुभयो ।
सेमिनारका प्रमुख अतिथि बंगलादेशका माननीय State Minister of Power, Energy, and Mineral Resources of Bangladesh, Hon. Mr. Nasrul Hamid ले नेपालका उल्लेख्य लगानीको सम्भावनाबारे उल्लेख गर्नुहुँदै नेपालसँग द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत गर्ने बंगलादेशको चाहना रहेको बताउनुभयो ।
नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्व दिनुहुँदै बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउँदै प्रगाढ सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराउनुहुँदै लगानी सम्मेलनले सम्भावित लगानीकर्ता, नीतिनिर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्यूसनहरू र बैंक तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउने र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने सम्भावना औंल्याउनुभयो । उहाँले सहभागी लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गर्नुभयो ।
लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनको सम्बन्धमा विस्तृत जानकारी प्रदान गर्ने प्रस्तुतीकरण गर्नुभएको थियो ।
सेमिनारमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको भिडियो सन्देश प्रसारण गरिएको थियो ।
सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठीत व्यावसायिक प्रतिष्ठानमा प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता रहेको थियो ।