काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट (डब्लुटीएम)- २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’ (दीगो परिवर्तन : सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण) शीर्षकमा भएको छलफल सत्रमा सहभागी रहेका सीईओ जोशीले नेपालले गरेका प्रयासहरुबारे उल्लेख गर्दै जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सीईओ जोशीले जानकारी गराएका थिए । उनले भने, “नेपालले अब सतही ‘हरित’ पहलभन्दा अघि बढ्दै प्रणालीगत परिवर्तनतर्फ ध्यान केन्द्रित गरेको छौं । जहाँ वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपन बीच सन्तुलन कायम गर्न आवश्यक छ। यस प्रयासका लागि नेपाल प्रतिबद्ध छ।”
सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण शीर्षकमा आयोजित यो छलफलमा पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको अवधारणालाई अंगाल्दै स्रोतहरूको पुनःप्रयोग, फोहोर न्यूनिकरण, न्यून–कार्बन यातायात प्रवर्द्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।
ट्रोभ टुरिजम् डेभ्लप्मेन्टद्वारा सञ्चालन गरिएको यस छलफल कार्यक्रममा विश्वका विभिन्न देशका पर्यटन विशेषज्ञहरूले सहभागिता जनाएका थिए । छलफलले विश्वभरका नवीन अभ्यासहरू र तीव्र रूपमा विकसित हुँदै गरेका बजारले भोग्नुपरेका चुनौतीहरू उजागर गरिएको थियो ।
यस छलफलमा सर्कुलर इकोनमी परम्परागत ‘सस्टेनेबिलिटी’ अवधारणा, कमजोर पूर्वाधार भएका गन्तव्यमा न्यून–कार्बन गतिशीलता, नीति निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता, लगानी, पूर्वाधार र सीप विकासका अभावमा उदाउँदा बजारहरूले भोग्नु परेका चुनौतीहरू, विश्व पर्यटन उद्योगका प्रवृत्तहरु, वातावरण संरक्षणमा भूमिका खेल्ने स्थानीय समुदायको सामाजिक र आर्थिक लाभलगायतका विषयमा छलफल भएको थियो ।
यो छलफलमा पर्यटन क्षेत्रले अब सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई वास्तविक र मापनयोग्य परिवर्तन ल्याउने आवश्यकता औंल्याइएको छ ।