‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु, कस्ता उद्यम व्यवसाय कर्जा पाउन योग्य:


काठमाडौं। सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

३ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि प्राप्त गर्न सकिने ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अहिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत कार्यान्वयनमा छ ।

कर्जा पाउन योग्य ठहर्‍याएका स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकमार्फत किस्ता किस्तामा कर्जा पाउँछन् ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि कार्यान्वयनमा आएको २ वर्ष भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत नै स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्टार्टअप लोन प्रक्रिया: कस्ता उद्यम व्यवसाय कर्जा पाउन योग्य:

स्टार्टअप कर्जा पाउनका लागि विभिन्न योग्यता तथा मापदण्डहरु तोकिएका छन् । कार्यविधिमै यसबारे स्पष्टरुपमा खुलाईएको छ ।

कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्छ, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्छ ।

नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको पनि हुनुपर्छ भन्ने कार्यविधिमा नै उल्लेख छ ।

क्षेत्रगत रुपमा भन्दा, कृषि, सिँचाई तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम र शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित उद्यमले कर्जा पाउन सक्छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताका अनुसार: दुई आर्थिक वर्षमा जम्मा ७६५ वटा प्रस्तावले कर्जा पाएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा १६५ प्रस्तावकले कर्जा प्राप्त गरेका थिए ।

आर्थिक वर्ष २०८१/०८२ मा ६ सय प्रस्तावकले ८८ करोड बराबरको कर्जा प्राप्त गरेका छन् । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष कर्जा प्राप्त गर्ने प्रस्तावकको संख्या निकै बढेको स्थिति छ ।

दुई वर्षको अवधिमा हामीले पाएको अनुभवलाई संक्षेपमा प्रस्तुत गर्नुपर्दा, युवाहरुमा उत्साह बढेको छ । स्टार्टअप कर्जा कार्यक्रमले परम्परागत जागिरमुखी सोचभन्दा बाहिर निस्केर व्यवसाय तथा उद्यम गर्ने प्रेरणा जगाएको छ । दुई वर्षमा ७६५ जनाले कर्जा पाएका छन्, उनीहरुले विभिन्न उत्पादन र सेवामा आधारित उद्यम सुरु गरेका छन् ।

यस कार्यक्रमले नयाँ उद्यमी जन्माउन पनि भूमिका खेलेको छ । कृषि, सूचना–प्रविधि, पर्यटन, हस्तकला, सेवा व्यवसाय जस्ता क्षेत्रमा नयाँनयाँ स्टार्टअप सुरु भएका छन् ।