काठमाडौँ। सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका हिमाली र उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
विभागका अनुसार सोमबार राति(कात्तिक १०) देखि बुधबार बिहान(कात्तिक १२) गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी प्रदेशका हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की र पर्वतका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै डोल्पामा पनि हिमपात र वर्षाको सम्भावना रहेको छ ।
हिउँ र पानी पर्ने सम्भावना रहेकाले घुम्न जाने पर्यटकलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पछिल्लो समय मनाङ, मुस्ताङ, डोल्पालगायतका हिमाली जिल्लामा पर्यटकको घुइँचो लागेको छ ।
मौसमी बदलीका कारण अप्ठ्यारो परिस्थिति नआओस् भनेर मुस्ताङ जिल्ला प्रशासन कार्यालयले पनि सोमबार साँझ सूचना प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उच्च हिमाली क्षेत्र (मुस्ताङ जिल्लाको मुस्ताङ-डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ-मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ-म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्न/नगराउन आग्रह गरेको छ ।