काठमाडौं। ग्राण्डी इन्टरनेशनल अस्पतालले नेपालकै स्वास्थ्य इतिहासमा अभूतपूर्व सफलता हासिल गरेको छ। अस्पतालले विश्व स्ट्रोक सङ्गठन (World Stroke Organization–WSO) बाट “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता प्राप्त गरेको हो। यो मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि लागू हुनेछ, जसले नेपाललाई विश्वस्तरको स्ट्रोक उपचारको नक्सामा स्थापित गरेको छ।
ग्राण्डी अस्पतालका न्युरोलोजी विभागका वरिष्ठ कन्सल्टेन्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा. राजु पौडेल का अनुसार, यो मान्यता अस्पतालको निरन्तर प्रतिबद्धता र गुणस्तरप्रतिको समर्पणको परिणाम हो। उनले भने, “नेपाली बिरामीलाई अब स्ट्रोक उपचारका लागि विदेश जानु नपर्ने अवस्था बनेको छ। हाम्रा चिकित्सक र प्राविधिक टोलीले विश्वस्तरको सेवा घरमै प्रदान गर्न सक्ने क्षमता हासिल गरेको छ।”
विश्व स्ट्रोक सङ्गठनले यो मान्यता प्रदान गर्नुअघि अस्पतालको संरचना, उपचार प्रक्रिया, उपकरण, चिकित्सकको दक्षता र बिरामीको परिणामको विस्तृत मूल्याङ्कन गरेको थियो। मूल्याङ्कन टोलीमा डा. डिएर्ड्रे डी. सिल्भा र रुपल सेदानी लगायतका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी थिए। अन्ततः, अस्पतालले सबै मापदण्ड पूरा गरी “एडभान्स्ड स्ट्रोक सेन्टर” मान्यता प्राप्त गर्न सफल भयो।
ग्राण्डी इन्टरनेशनल अस्पतालमा अहिले २४ घण्टा स्ट्रोक उपचार सेवा उपलब्ध छ। न्युरोलोजिष्ट, न्युरोसर्जन, इन्टरभेन्सनल रेडियोलोजिष्ट, इन्टेन्सिभिस्ट र प्रशिक्षित स्ट्रोक नर्सहरूको टोलीले अत्याधुनिक उपकरण र प्रोटोकलको प्रयोग गर्दै तात्कालिक उपचार प्रदान गर्छ। थ्रोम्बोलाइटिक औषधि, मेकानिकल थ्रोम्बेक्टोमी, एन्युरिज्म कोइलिङ र एभीएम (AVM) उपचारजस्ता सेवा अहिले नेपालमै उपलब्ध भएका छन्।
ग्राण्डी अस्पतालका निर्देशक डा. बिनोद बिजुक्छे का अनुसार, यो उपलब्धिले नेपालमा न्युरोलोजिकल सेवा र अनुसन्धानलाई नयाँ दिशा दिएको छ। “हामी निरन्तर सुधार र नवप्रवर्तनमार्फत देशमा नै विश्वस्तरको स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं,” उनले भने। यस मान्यतासँगै ग्राण्डी इन्टरनेशनल अस्पताल नेपालकै पहिलो र एकमात्र अस्पताल बनेको छ, जसले विश्व स्ट्रोक सङ्गठनको “एडभान्स्ड स्ट्रोक सेन्टर” मान्यता प्राप्त गर्न सफल भएको हो।