नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी हासिल गरेको छ
Economic Khabar
१ कार्तिक २०८२, शुक्रबार १४:३४
काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ।
यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३ मा विश्वकप छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा रोमाञ्चक तरिकाले पराजय व्यहोरेको थियो। त्यस हारपछि नेपाली टिममाथि दबाब र अपेक्षाको भारी थियो। तर यसपटकको प्रतियोगितामा टोलीले संयम, आत्मविश्वास र उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा तानेको हो।
नेपालले पछिल्लोपटक सन् २०१४ मा आईसीसी डिभिजन–४ को उपाधि जितेको थियो। त्यसअघि सन् २०१० मा पनि नेपालले सोही प्रतियोगिता जितेर ऐतिहासिक उपलब्धि बनाएको थियो। तर सन् २०१४ यताका करिब ११ वर्षको अवधिमा नेपालले आईसीसीको कुनै पनि प्रमुख प्रतियोगितामा उपाधि जित्न सकेको थिएन। यसबीचमा नेपालले विश्वकप छनाैट देखि विभिन्न डिभिजन र क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि अन्तिम क्षणमा ट्रफीको दूरी पार गर्न असफल हुँदै आएको थियो। यसपटक भने नेपाली टोलीले सुरुवाती चरणदेखि नै योजनाबद्ध र अनुशासित खेल प्रदर्शन गर्यो। समूह चरणमा नेपालले कुवेत र जापानमाथि प्रभावशाली जित हासिल गर्यो। कुवेत समूह चरणमै बाहिरिएपछि नेपालले जापानविरुद्धको जितका दुई अंक बोकेर सुपर सिक्समा प्रवेश गरेको थियो। सुपर सिक्सको पहिलो खेलमै नेपालले सबल मानिएको यूएईमाथि १ रनको रोमाञ्चक जित निकाल्दै आत्मबल बढाएको थियो। उक्त जितलाई नेपाली टोलीको ‘टर्निङ पोइन्ट’ मानिएको छ। त्यसपछि दोस्रो खेलमा नेपालले कतारविरुद्ध ५ रनको कठिन जित निकाल्दै फाइनल चरणको ढोका लगभग खोलिसकेको थियो। नेपालले उत्कृष्ट बलिङ र संयमित ब्याटिङको प्रदर्शन गर्दै कठिन परिस्थितिमा पनि आत्मविश्वास कायम राख्यो। कप्तानको रणनीति, बलरहरूको सटीक नियन्त्रण र फिल्डरहरूको चुस्त प्रदर्शनले नेपाललाई हरेक खेलमा प्रतिस्पर्धीभन्दा अगाडि राख्यो। अन्य खेलहरूको नतिजा नेपालका पक्षमा आउँदा टोली २ खेल बाँकी रहँदै विश्वकपमा छनोट हुन सफल भयो। यस उपलब्धिले नेपाललाई मात्र विश्वकपको टिकट दिलाएन, आईसीसी प्रतियोगितामा उपाधि पनि हात पार्ने गौरव दिलायो। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलप्रेमीहरूलाई यो जितले ठूलो उत्साह भरिदिएको छ। क्यानका एक अधिकारीका अनुसार, “यो जित नेपाली क्रिकेटको आत्मविश्वास पुनःस्थापित गर्ने ऐतिहासिक क्षण हो। अब हाम्रो लक्ष्य विश्वकपमा अझ बलियो प्रदर्शन गर्ने हो।” ११ वर्षपछि आईसीसी प्रतियोगिताको उपाधि जित्नु नेपाली क्रिकेटका लागि साधारण उपलब्धि होइन। दशकौंदेखि लगानी, संघर्ष र जनसमर्थनले निर्माण गरेको क्रिकेट संस्कृतिको परिणाम हो यो। यो जितसँगै नेपालले विश्व क्रिकेटमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै नयाँ पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। खेलाडीहरूका अनुसार, यस उपाधिले नेपाललाई आगामी विश्वकपमा प्रतिस्पर्धी टोलीको रूपमा प्रस्तुत गर्ने मार्ग खोलिदिएको छ।