काठमाडौँ। जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला आज तेस्रो दिन विहानैदेखि चहल पहल सुरु भएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको कात्तिक २ गतेसम्म सञ्चालन रहने छ । हिजोसम्म १५ हजार जना भन्दा बढीले अवलोकन गरेका छन् र ४५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
भोली शनिवार अलि बढी भिडभाड तथा कारोबार हुने अपेक्षा आयोजक गरेको छ ।
कार्तिक ३ गतेदेखि तिहारको विदा हुँदैछ। कार्तिक १ गते र २ गते अलि बढी भिडभाड हुने अनुमान गरिएको छ ।
कात्तिक २ गतेसम्म चल्ने मेलामा करिब ४० हजारभन्दा बढीले अवलोकन गर्ने र मेलाको समग्रमा कारोबार एक करोड रुपियाँभनदा बढीको हुने फ्यानको अध्यक्ष राजेशभक्त श्रेष्ठ बताए ।
तिहार र छठ पर्वलाई लक्षित गर्दै आयोजना गरिएको मेला पुष्प व्यवसाय प्रवद्र्धन र गुणस्तरीय उत्पादनमा सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको उहाँले बताउनुभयो।
यसवर्ष मेलामा ९० वटा प्रदर्शनी स्टल रहेका छन् । तीमध्ये ८० व्यवसायिक, ५ अफिसियल, १ प्लान्ट क्लिनिक, २ प्रतियोगितात्मक र २ फोटो/सेल्फी स्टल रहेका छन् ।
गोदावरी फूलका मिनियचर, रिफ्लेक्स, स्पाइडर र ईनकर्भ गरी चार विधामा प्रतियोगिता समेत आयोजना गरिएको छ।

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती हुँदै आइरहेको छ । हाल एक हजार २३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा पाएका छन् ।
पुष्प व्यवसायमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ । वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपियाँ पुगेको फ्यानले जनाएको छ । आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ ।