आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै


काठमाडौँ। नेपाल सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ।

कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), कृषि अभियान्ता लगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो ।

विश्व खाद्य दिवसको ऐतिहासिक पृष्ठभूमि: विश्व खाद्य दिवस (World Food Day) मनाउने निर्णय सन् 1979 मा FAO (Food and Agriculture Organization of the United Nations) को 20औँ साधारण सम्मेलनमा भएको थियो।

यस दिनलाई औपचारिकरूपले विश्वभरिका राष्ट्रहरूले स्वीकार गरेका थिए, र यसलाई प्रत्येक वर्ष १६ अक्टोबर मा मनाउन थालिएको हो।

विश्व खाद्य दिवसको उद्देश्यहरूमा:

* भाेक, पोषण अभाव, अन्न सुरक्षा (food security) का विषयमा विश्वव्यापी सचेतना फैलाउने।

* कृषिको स्थिति सुधार गर्ने, दिगो खेती (sustainable agriculture) र वातावरण अनुकूल अभ्यासहरूलाई प्रवर्धन गर्ने।

* सबै मानिसलाई पर्याप्त, स्वस्थ तथा पोषणयुक्त भोजनको पहुँच सुनिश्चित गर्ने।

यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ ।

समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिए।

भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पुर्‍याउने उनको विश्वास छ । दिवशका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ ।