जावलाखेलमा  शुरु भयो “१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२”


ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ।

गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ संघले आयोजना गरेको प्रदर्शनी कार्तिक २ गते (५ दिन ) सम्म संचालन हुनेछ।

उक्त प्रदर्शनीको समुद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव ( कृषि विकास तर्फ ) डा. गोविन्द्र प्रसाद शर्माले गरेका थिए, भने विभिन्न सरकारी तथा गैर -सरकारीलगायत विभिन्न संघ / संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विगत वर्षमा झैँ यसवर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी / फर्मलाई शिल्ड, नगद तथा प्रमाण-पत्रद्दारा पुरस्कृत गरिएको छ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी / फर्मलाई पुरस्कृत गरिएको छ । साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको आयोजकको जनाएको छ।

उक्त प्रदर्शनीको समुद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए । ‘पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नु पर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ’, शर्माले भने । शर्माले नेपाल सरकारले लागू गरेको बिउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देश भित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नु पर्नेमा जोड दिए । ‘कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बीमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ । प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं ।’

यसैगरी, पुष्प विकास केन्द्रका प्रमुख रविन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए । त्यस्तै, फ्लोरिकल्चर एशोसिएशन नेपाल ( फ्यान ) का अध्यक्ष राजेश भक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए । यस्तै, आयोजकको अनुसार उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, १ प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्षहरु रहेका छन् । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण राखिएको छ । साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिएको आयोजकले जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिएको एशोसिएसनले जनाएको छ ।

५ दिनेसम्म हुने उक्त प्रदर्शनी बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म संचालन हुने छ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड ३० लाखभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ । पुष्प व्यवसायीहरूलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरूबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्‍याउने प्रदर्शनीको उद्धेश्य रहेको आयोजकले जनाएको छ । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको एशोसिएसनले जनाएको छ ।