काठमाडौँ: कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा मानव स्वास्थ्यलाई हा’निकारक ‘अर्गानोफस्फेट’ नामक विषादी अत्यधिक मात्रामा भेटिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारीअनुसार मकवानपुरबाट आएको अकबरे खुर्सानीमा ५४.०७ प्रतिशत विषादी फेला परेको हो।
सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ प्रकारका तरकारी परीक्षण गर्दा अकबरे खुर्सानीमा सबैभन्दा बढी विषादी पाइएको थियो। नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादी परीक्षण गरिन्छ।
विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ सम्म भए केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी भए खान अयोग्य मानिन्छ।
यसरी हेर्दा कालीमाटीमा भेटिएको अकबरे खुर्सानी खानका लागि पूर्ण रूपमा अयोग्य रहेको पुष्टि भएको छ।