१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा यहीँ असोज २९ गतेदेखि शुरू


ललितपुर। आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ ।

गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ‘१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२’ यहीँ असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ ।

त्यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरू रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरूवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् ।

साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ९ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

विगत वर्षमाझैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा  (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी – फर्मलाई सिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिनेछ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी – फर्मलाई पुरस्कृत गरिनेछ ।

साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ ।

उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १०० सय रुपैयाँ, सर्वसाधारणहरूको लागि १५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरू (नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने ) को लागि चाँहि निःशुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरूलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।