न्यूनतम साझा कार्यक्रम : आर्थिक शिथिलता अन्त्य , बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त’ [पूर्णपाठसहित]


काठमाडौँ। पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको छ । 

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने नीति सरकारले लिने प्रतिबद्धता पाँच दलले जनाएका छन् । त्यस्तै, सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गर्ने सङ्कल्प पाँच दलको छ । 

पन्ध्रौँ योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौँ राष्ट्रिय योजना प्रारम्भ गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । सोह्रौँ आवधिक योजनामार्फत डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र’ निर्माण गर्ने उल्लेख छ ।