मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा सडक अवरुद्ध भएको छ ।
पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै अवरोध हटाउने काम शुरु भएको थियो । हालसम्म ६० प्रतिशत अवरोध हटेको छ । थप कुनै अवरोध नआएमा आज रातीसम्म सडक सञ्चालनमा ल्याउन सकिने सडक बिभागको भनाइ छ ।
‘कुनै पनि बाधा आइ नपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको छ,’ विभागको सुचनामा भनिएको छ ।
अहिले पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर– १, लोडर–१ र मुग्लिन तर्फबाट लोडर–२, एक्साभेटर–१ उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको छ । यसको अलावा दुवैतर्फ १–१ वटा लोडर तैनाथ अवस्थामा रहेको विभागको भनाइ छ ।
यस्तै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले बताएको छ ।
‘पहिरो पन्छाउने क्रममा नारायणगढ तर्फ ठूलाठूला ढुंगाहरुका खसेका कारण केही कठिनाइ भएतापनि हामीसँग भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेका छन् । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको व्यहोरा अवगत गराउन चाहन्छौं,’ सडक बिभागको भनाइ छ ।
‘पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकाले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुईजना अपरेटरहरु पनि थप गरिएको छ।’