‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’


ईकोनोमिक खबर, काठमाडौं।

‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’ मा अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, बैदेशिक लगानी भित्राउन नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाको समेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताए। यतिखेर बैदेशिक लगानी र प्रविधिलाई भित्राएर आर्थिक समृद्धिको मार्गमा देश अगाडि बढ्नेत्रममा रहेको बताए।

अर्थमन्त्री डा. खतिवडाले भने हामीले उद्योगधन्दा, कम्पनि तथा अन्तर्राष्ट्रिय लगानीको अनुकुल बाताबरण बनाउन विभिन्न कानूनी व्यवधानमा आमूल सुधार गरेका छौँ । उद्योग तथा ब्यवसाय संचालनमा एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ। बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विविधकानूनसमेत निमार्ण तथा कार्यान्वयनमा आइसकेको छ। संसारभर नै लगानीका लागि उपयुक्त भइसकेको फ्रेन्चाईज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीले बताए। साथै भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी ब्यापार विस्तार गर्न आग्रह गरेका छन्।
सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको बताए। नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको संख्यामा समेत बृद्धि भएकाले थप लगानी बिस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबिच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने बताइन्। नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उनले आग्रह गरिन्। “नेपालमा हाल दुई तिहाइको बलियो र स्थिर सरकार छ, सरकारको एकमात्रै नारा आर्थिक समृद्धि हो, प्रधानमन्त्रीले त्यसैमा जोड दिँदै आउनुभएको छ । सरकारले सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमा लिएर जाने प्रतिवद्धता समेत जनाएको छ”, अध्यक्ष राणाले भनिन्। नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताए। बुधबारदेखि शुरू भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ स्टल रहेका छन्।।