आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत पहिरो पन्छाउने काम शुरुआत


चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ।

शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले दावी गर्नुभयो। करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छभने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।

“बर्षाले गर्दा पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको”- डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ ।

यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।