काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
विभागले राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
भोलि (मंगलबार) भने देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
“मंगलबार र बुधबार देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडाशैनीले भने, “कुनै नयाँ मौसमी प्रणाली विकास भएर होइन पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावकै कारण पानी पर्नेछ ।”