नेपाल फुलकन्ट्याक्ट कराते महासंघको साधारणसभा तथा निर्वाचन सम्पन्न


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव प्रमुख अतिथि टंकलाल घिसिङ र विशेष अतिथि गौँचनको उपस्थितिमा नेपाल फुलकन्ट्याक्ट कराते महासंघको नयाँ नेतृत्व चयन”

काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय साधारणसभा तथा निर्वाचन २०८२ शनिबार सम्पन्न भएको छ।

कार्यक्रम काठमाडौँको कीर्तिपुरस्थित शुभकामना पार्टी प्यालेसमा आयोजना गरिएको थियो। साधारणसभामा महासंघका संस्थापक महागुरु जगत बहादुर गौँचन विशेष अतिथि रहनु भएको थियो भने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भयो। कार्यक्रममा सूर्य बुढाथोकीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन पानसमा बत्ती बालेर गरिएको थियो। स्वागत मन्तव्यका क्रममा महासंघका विरकृष्ण महर्जनले विगतमा देखिएका विवादलाई अब नयाँ कार्यसमितिले समाधान गर्दै खेललाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “फुलकन्ट्याक्ट करातेमा विगतका असमझदारीलाई अब नयाँ कमिटीले समाधान गर्नेछ, हामी एकढिक्का भई खेललाई राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिष्ठित बनाउन लाग्नेछौं।”

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले भन्नुभयो, साधारणसभापछि सम्पन्न निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ। नयाँ कार्यसमितिले खेलाडी विकास, विद्यालयस्तरमा कराते विस्तार र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी सहभागिता जनाउने योजना अघि सारेको बताइएको छ।