आईपीओ निष्काशन गर्ने तयारीमा राष्ट्रिय खाद्य बैंक


“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य”

काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको छ।

बैंकले आउँदो असोज २५ गते हुने साधारण सभाबाट शेयर निष्कासन प्रक्रियाका लागि आवश्यक प्रस्ताव पारित गर्ने जनाएको छ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बैंकले कृषि क्षेत्रको दीर्घकालीन विकास, रैथाने बाली तथा स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनलाई आफ्नो मुख्य लक्ष्य बनाएको बताए।

उनले भने, “कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तथा किसानका उत्पादनलाई मूल्य र बजार दिने उद्देश्यले बैंकको स्थापना गरिएको हो। अब सर्वसाधारणको विश्वास हासिल गर्दै लगानी विस्तार गर्न आईपीओ निष्कासन गर्ने तयारीमा छौँ।”

राष्ट्रिय खाद्य बैंक लिमिटेडले शेयरमार्फत सर्वसाधारणलाई आकर्षित गरेर स्थानीय उत्पादनमा आधारित व्यावसायिक क्रियाकलापलाई थप प्रभावकारी बनाउन चाहेको बताइएको छ।

साधारण सभामा बैंकले प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ ल्याउने तयारी गरेको बैकका अध्यक्ष उप्रेतीले बताए । बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी पु-याउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको जनाएको छ । आईपीओ मार्फत संकलन गरिएको लगानीवाट  खाद्य बैंकले कृषि क्षेत्रमा थप लगानी विस्तार गर्ने भएको छ ।

खाद्य बैंकले निष्काशन गर्ने आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ मूल्य कायम रहने बैकले जनाएको छ ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडले यही असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा भक्तपुरमा रहेको हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो ।