काठमाडौँ / (नाडा) अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुँदे सुझाव बुझाएको छ । बिहीबार अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग विभिन्न विषयहरूमा छलफल गरी सो सुझाव बुझाएको हो।
उक्त अवसरमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरू पेस गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन् ।
नाडाको २६ बुँदे सुझावहरू:
१.सडक मर्मत सम्भार दस्तुर,
२.सवारी साधन कर,
३.सवारी साधनहरू सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था,
४.अटोमोवाइल कम्पनीहरूको दर्ता प्रक्रिया,
५. इम्बोष्ड नम्बर सवारी साधनहरूमा अनिवार्य लागु गर्ने,
६. दुइपाङ्ग्रे सबारी साधनहरूलाई अत्यावश्यकिय सवारी साधनको रूपमा लिनुपर्ने,
७. सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने,
८.नामसारी,
९. करहरूको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनुपर्ने,
१०. जरिवानाको दायरा,
११. सरुवा सहमती,
१२. सवारी साधन पैठारीकर्ताहरूको लागि छुट्टै डेस्कको स्थापना,
१३. सेवाग्राहीलाई सुविधा,
१४. रसिदमा एकरूपता हुनुपर्ने,
१५.मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने,
१६. लाईसेन्स वितरण सहज हुनुपर्ने,
१७. दुई पाँग्रे सवारी साधनहरूको वर्गीकरण,
१८.सहजीकरणको भूमिका निर्वाह,
१९.उच्चस्तरका सवारी साधनहरूको लागि हरियो स्टिकर दिने प्रक्रिया,
२०. पाकिङ्गस्थलको अभाव,
२१. विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण,
२२. चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था,
२३. सवारी चालक तालिमको व्यवस्था,
२४. अटोमोवाइल वर्कसपहरूमा रोजगारीको व्यवस्था,
२५.अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण,
२६.सिमेन्ट मिक्सरको काम गर्ने सवारी साधनको आयात गर्ने,
छलफलमा सहभागी भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरूमा जानकारी गराए।
छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरूको सि.सि.को आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरू छन् भने प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताए।
सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सिसिको आधारमा गर्न सकिने भन्दै सवारी साधनहरूको लागि पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरूले गर्ने बताए।
त्यसैक्रममा उपप्रधानमन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरूका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन समेत दिए।
सो मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरू समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।