आठ महिनामा पौने ५ लाख नेपाली विदेशिए


वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङेक अनुसार यो आर्थिक बर्षको फागुन महिनामा मात्रै ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।received_1474836563461651-1710604119.jpeg

फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

यस्तै, तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो । अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले दैनिक करिब दुई हजार जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगारको तथ्यांकले देखाएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुनसम्म औसतमा प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा भने करिब दुई हजार अर्थात १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो ।

विभागको तथ्याङ्क अनुसार यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको संख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको संख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम हुन थालेको छ ।received_442696368195458-1710604161.jpeg

चालु आवको मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको संख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ । फागुनमा विदेशिनेमध्ये ६ हजार ७ सय ७८ महिला र ५८ हजार ८ सय ९० पुरुष छन् । 

युएईमा आकर्षण बढ्दो 

यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ ।

साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

दक्ष कामदार कति ? 

फागुन महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । फागनुमा विदेश गएका ६५ हजार युपाहरू मध्ये ४७ हजार ५ सय ७७ नेपालीले काम सिकेर गएको देखिएको छ ।  

यस्तै, १२ हजार ४ सय ८७ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ५ हजार १ सय ६० छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः ३ सय ४९ र ८५ मात्र रहेको विभागको तथ्याङ्क छ ।