निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ ।
‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय:
भदौ २० गतेदेखि २२ गतेसम्म ३ दिनसम्म काठमाडौंको शंखमुलस्थित कलाघरमा दैनिक बिहान ११:०० बजेदेखि साँझ ०६:०० बजेसम्म स्याउ उत्सव आयोजना हुने कर्णाली घरले जनाएको छ ।
कला घरको आयोजना र कर्णाली घरको सह – आयोजनामा कर्णालीमा फल्ने स्याउ र स्याउबाट उत्पादित वस्तुहरुको प्रदर्शनी हुने भएको हो।
उक्त उत्सवमा कर्णालीमा उत्पादन हुने डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत दर्जन बढी प्रकारका स्याउहरु प्रदर्शनीमा राखिने छन्।
त्यस्तै, स्याउबाट बनेका सुकाएको चाना, साइडर, सिरका, ब्रान्डीलगायतका परिकार पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

स्याउ प्रदर्शनी मात्र नभइ उक्त उत्सवमा गएर उपभोक्ताहरुले आवश्यकताअनुसार स्याउ खरिद गरी लैजान पनि गर्न सक्ने छन्।
कर्णालीको स्याउ स्वादका दृष्टिले यसअघि नै परिचित भए पनि यसको बजारमा खपत बढाउनका लागि पहिलोपटक औपचारिक रुपमै उत्सवको आयोजना गर्न लागिएको हो।
यसैगरी, कर्णालीको मौलिक संस्कृति पनि उत्सवको मुख्य आकर्षण हुनेछ।
उक्त कार्यक्रममा धामी नाच, हुड्के नाच, मागललगायतका प्रस्तुतिहरू हुनेछ। उत्सव अवलोकन गर्नको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।