जनकपुर। धनुषा जिल्लाका कृषकहरु अब कृषि तथा पशुपन्छी सेवाबाट लाभान्वित हुने भएका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) अन्तर्गत आर्थिक करिडोर कार्यालय बर्दिवासले २ करोड ४० लाखको लागतमा निर्माण गरेको उक्त भवन जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई हस्तान्तरण गरेका छन्।
भवनको स्वामित्व ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामसहित धनुषाका ग्रामीण क्षेत्रका कृषकहरुका लागि जनकपुर पुग्नुपर्ने बाध्यता हटेको बताए।
उनले अहिलेका लागि तीन जना पशु चिकित्सकसहित प्राविधिक विज्ञलाई आजकै दिनबाट काम गर्नेगरी उक्त कार्यालयमा राखिएको जानकारी दिए।
मेयर साहले यस कार्यायलबाट माटो परीक्षण पनि हुने भएकाले कृषकहरुकालागि खुसीको कुरा भएको बताए।
मेयर साहले आगामी बजेटमा यस कार्यालयका लागि विशेष बजेट छुट्टयाएर थप सेवा सुविधा प्रदान गर्ने आश्वासन दिए।
उक्त भवनमा कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला, प्राविधिक उपकरण, तालिम हल लगायतका सेवाहरु उपलब्ध रहेको छ।