नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी


काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्।

लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो। यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।

यो अवसर नेपाल पर्यटन यात्राका लागि महत्वपूर्ण पहल भएको पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले बताए। ‘नेपाल पर्यटन बोर्ड र टिकटकबीच प्रभावकारी सहकार्य सुरु भएको छ। यो केवल एउटा सम्झौता मात्र नभई नेपाललाई विश्वसामु प्रभावकारी, आकर्षक र टाढासम्म पुर्‍याउने प्रतिबद्धता हो,’ उनले भने।

बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्। यस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका  सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।

अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्। यसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्ने बोर्डको विश्वास छ।

बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरूलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ। बोर्डले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई  पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन्।